होटल ईच्छाको आईपीओ निष्कासन गर्ने तयारी, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल
Last updated at 08:02 am
पाँचतारे होटल ईच्छा लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ। यसका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ ।
उक्त अवसरमा कम्पनीका संस्थापक अध्यक्ष इच्छाबहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग विक्रम कुँवर तथा बिक्री प्रवन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत रामप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।
कम्पनीको अधिकृत पूँजी २०० करोड र जारी पूँजी १५० करोड रुपैयाँ छ। कम्पनी, मधेस प्रदेशको बारा जिल्लास्थित सिमरामा छ ।
विसं २०७४ सालमा योगगुरु बाबा रामदेवबाट उद्घाटन गरेको उक्त कम्पनी शुरुमा चारतारे श्रेणीमा सञ्चालनमा आएको थियो । भने कम्पनीले विसं २०७९ मा पाँचतारे मान्यता प्राप्त गरेको थियो। प्रारम्भमा इच्छाबहादुर वाग्लेको व्यक्तिगत लगानीमा स्थापना भएको उक्त कम्पनीमा अहिले प्रवर्द्धक समूहको चुक्तापूँजी १२० करोड रुपैयाँ छ।
पाँच बिघा क्षेत्रफलमा फैलिएको यस होटलमा १०० वटा सुविधा सम्पन्न कोठा, स्वीमिङ पूल, क्यासिनो, स्पा, बैंक्वेट, क्लब हाउसलगायत संरचना छन्। हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय भवनमा सार्ने र भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गरी होटल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थापक वाग्लेले बताए।
काठमाडौं–निजगढ फास्ट ट्र्याक तथा सिमरा विमानस्थलको सहज पहुँचले होटललाई अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको छ। कम्पनीले आगामी आर्थिक वर्षभित्रमा आईपीओ निष्कासन गर्ने तयारी गरेको बताएको छ।