राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बैशाख ७ गतेदेखि निष्कासनमा
Last updated at 07:29 pm
राष्ट्रिय वाणिज्य बैंकले आगामी बैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो ।
जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।
पूर्ण सरकारी स्वामित्वको उक्त बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ । जुन रेटिङले ऋणपत्रमा लगानी सुरक्षा मजबुत रहेको जनाउँछ ।
यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।