ट्रेड टावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट पायो अनुमति
Last updated at 07:02 am
ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले विसं २०७९ असार १४ गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति मागेको थियो । अन्य समूह अन्तर्गत आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कुल पूँजीमा ४८ प्रतिशत साधारण शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ । धितोपत्र निष्कासन तथा बाँडफाँटपछि यो कम्पनी अन्य समूहमा सूचीकृत हुनेछ ।
कम्पनीले लामो समयदेखि हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । शुरुवाती समयमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा उक्त कम्पनी सञ्चालनमा छ।
काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १२ वर्ष बितिसकेको छ ।
यसैगरी, कम्पनीले काठमाडौंकै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । त्यस्तै कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ ।