साताको शेयर समीक्षा : बढेको बजारले लय समात्ने संकेत
Last updated at 07:06 am
यो साता धितोपत्र बजार बढेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार यो साता बजार १.दशमलव ५ प्रतिशतले बढेको छ ।गत साता २ हजार ६६३ अंकमा रहेको बजार यो साता भने ४० अंक बढेर २ हजार ७०३ अंकमा पुगेर बन्द भएको छ।अघिल्लो साता बजार ६ दशमलव शून्य १ अंकले बजार घटेको थियो ।
यो साता जम्मा चार दिन कारोबार भएको छ। अघिल्लो साता भने पाँच दिन कारोबार भएको थियो । यो साता तीन दिन बजार बढेको देखिन्छ भने एक दिन बजार घटेको छ ।
पहिलो कारोबार दिन आइतबार २९ दशमलव ८२ अंकले बढेको बजार सोमबार भने सार्वजनिक विदाका कारण बन्द रहेको थियो । यसैगरी, मंगलबार १६ दशमलव ९५ अंक घटेको बजार बुधबार भने २३ दशमलव ८६ र बिहीबार ३ दशमलव ३५ अंकले बजार बढेको थियो।
बजार बढ्न थालेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । यो साता कुल चार कारोबार दिनमा धितोपत्र बजारमा २६ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। अघिल्लो साता भने कुल कारोबार दिनमा २५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । यस आधारमा यो साता धितोपत्र बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै बढेको देखिन्छ ।यसले लगातार चार सातादेखि घटेको बजारले आगामी साता बढ्ने संकेत देखाएको छ ।
वास्तवमा यसले बजारको ओरालो यात्रालाई ब्रेक लगाएको देखाउँछ । यसैगरी, यो साता बजार पूँजीकरण पनि ४४ खर्ब ८९ अर्ब रुपैयाँ बराबर पुगेको छ। अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब रुपैयाँ बराबर थियो । नेप्से र बजार बढेकाले बजार पूँजीकरण पनि ६७ अर्बले बढेको देखिन्छ ।
यो साता पनि व्यापार समूह सबैभन्दा धेरै बढेको छ ।यो साता विशाल बजार कम्पनी बढेका कारण व्यापार समूहमा नै उच्च वृद्धि भएको देखिन्छ ।यो साता विशाल बजार कम्पनीको शेयर मूल्य १२ दशमलव ८८ प्रतिशत बढेको छ ।त्यस्तै साल्ट ट्रेडिङको शेयर मूल्य पनि २ दशमलव ९ प्रतिशतले बढेको छ।
हुन त यो साता मात्रै नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । उनले नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् ।चार सातादेखि लगातार घटिरहेको बजारमा उनको यो भनाइले पनि आगामी साता बजार बढ्नलाई थप टेवा पुग्न सक्ने देखिन्छ ।
चार साता लगातार घटेको बजारबाट आत्तिएका लगानीकर्ताहरु बजार थप घट्ने क्रममा यो साता ब्रेक लागेपछि आगामी साता बजार बढ्नेमा थप आशावादी बनेका छन्।यसका अतिरिक्त धितोपत्र बजारका लागि आर्थिक गतिविधि र अन्य सूचकहरु पनि अनुकूल छन् ।धितोपत्र बजारका लागि प्रतिकुल व्यक्तित्वको रुपमा चिनिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि बाहिरिएका छन् । यी लगायत समग्र वस्तुस्थितिका कारण आगामी सातादेखि बजारले लय समात्ने संकेत देखिएको अधिकांश लगानीकर्ताको भनाइ छ।