साताको शेयर समीक्षा : व्यापार समूहमा उच्च वृद्धि
Last updated at 07:01 am
यो साता पनि धितोपत्र बजार सामान्य अंकले घटेको छ ।
गत साता २ हजार ६६९ अंकमा रहेको धितोपत्रको दोस्रो बजार यो साता भने २ हजार ६६३ अंकमा आइपुगेको छ । यो साताको शुरुवाती दिनहरुमा बजारमा उतारचढाव देखिएता पनि समग्ररुपमा बजार भने सामान्य अंक अर्थात् ६ अंकले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार ५४ दशमलव ६२ अंकले घटेको बजार सोमबार पनि २६ दशमलव १० अंकले घटेको थियो । मंगलबार पनि ५८ दशमलव शून्य ५ अंकले घटेको बजार बुधबार भने ३९ दशमलव १३ अंकले बढेको थियो। साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार ४१ दशमलव ४३ अंकले बढेको थियो ।
त्यसैगरी, साताको पहिलो कारोबार दिन आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने सोमबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।त्यस्तै तेस्रो कारोबार दिन मंगलबार ५ अर्ब १८ करोड कारोबार भएकोमा बुधबार भने ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उता अन्तिम कारोबार दिन बिहीबार भने ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।साताभर बजारमा नेप्से परिसूचक र कारोबारमा उतारचढाव देखिएपनि बजारमा कारोबार रकम भने उल्लेख्य रुपमा बढ्न सकेको देखिदैन ।
यो साता रकमका आधारमा शिर्ष कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । उक्त कम्पनीको १ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै दोस्रोमा नेपाल पुनर्बीमा, सानिमा जीआईसी, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स लगायत छन् । त्यसैगरी, कारोबार शेयर संख्याका आधारमा भने सानिमा जीआई इन्स्योरेन्स शिर्ष स्थानमा छ।
यो साता बजार समूह सवैभन्दा धेरै अर्थात् ३ दशमलव २८ अंकले बढेको छ । यसैगरी, दोस्रो स्थानमा रहेको अन्य समूह १.७२ प्रतिशतले बढेको छ ।
कतिपय लगानीकर्ताहरु बैंकको ब्याजदर निकै घटिसकेको, लगानीयोग्य रकम पर्याप्त रहेको र पर्याप्त विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्रका सूचक सकारात्मक रहेकाले आगामी साता बजार बढ्ने सकारात्मक आधारहरू बलियो रहेको बताउँछन् ।
लगानीकर्ता पछिल्ला दिनमा बजारलाई राजनीतिक घटनाक्रमले बढी प्रभाव पारेता पनि बजारले विस्तारै लय समात्न थालिसकेको बताउँछन् ।