नेप्सेको सीईओमा नारदकुमार लुँइटेल नियुक्त,योग्यतामै विवाद !
Last updated at 07:00 am
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारदकुमार लुँइटेल नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओमा नियुक्त गरेको हो ।यसअघि उनी तारागाउँ विकास समितिको अध्यक्ष थिए ।
गत बुधबार मात्रै नेप्सेको सीईओका लागि अर्थमन्त्रालयमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
सिफारिस समितिले अन्तरवार्ता तथा तथा कार्ययोजना उत्कृष्टताका आधारमा तीन जनाको नाम सिफारिस गरेको आधारमा सरकारले सीईओमा लुँइटेललाई नियुक्त गरेको हो ।
नेप्सेको सीईओ बनेका लुँइँटेलको स्थायी घर सर्लाही हो । लगानीकर्ताहरुले उनमा पूँजीबजार तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव नभएको बताएका छन्। सीईओका लागि सर्टलिष्टमा परेको दिनदेखि नै उनीमाथि नेप्सेको सीईओका लागि हाल कार्यविधिले तोकेको योग्यता नपुग्ने भन्दै विवाद भएको थियो ।
सो कार्यविधिमा भनिएको छ, ‘पूँजीबजार वा वित्तीय क्षेत्र वा व्यबस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापनकीय क्षेत्रमा अनुभवसहित कम्तीमा १५ वर्षको अनुभव हुनुपर्नेछ ।’
गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो।