नेपाल अन्तरराष्ट्रिय व्यापार मेला -२०२५ बैशाख २५ गतेदेखि काठमाडौंमा
Last updated at 06:38 pm
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तरराष्ट्रिय व्यापार मेला – २०२५ यस वर्ष बैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने भएको छ ।
यस वर्ष मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानले सहभागिता जनाउने छन् । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला- २०२५, १०औं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ ।
कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवा प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान लगायत देशका क्रेतालाई आमन्त्रण गरिने छ ।
महासंघका अनुसार मेलाको मूख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (ईभी) गाडीसमेत राखिने छ । मेलाका अवसरमा अन्तरराष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्रिया गराउने लक्ष्य छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा लगायत छुट्टाछुट्टै स्टल राखिने छन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजारले अवलोकन गर्ने अपेक्षा छ ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षजस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादन अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघको छ ।
मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छूट व्यवस्था समेत गरिएको र ११ चैतदेखि बुकिङ खुला गरिने महासंघले जनाएको छ ।