१ अर्ब ६४ करोड लागतको तादी घ्याङफेदी हाइड्रो पावरमा लगानी सम्झौता
Last updated at 08:39 am
एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक बीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कूल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्नका लागि सिद्धार्थ बैंकसँग सम्झौता भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपूँजीबाट व्यवस्थापन गरिने छ ।
यो परियोजना अनुभवी प्रवर्द्धकहरूको समूहले विकास गरिरहेको छ । कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अलीलगायत छन् ।
श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आवद्ध छन् । त्यस्तै खतिवडा पनि एबीपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमी हाइड्रोपवार, बराह मल्टीपावर, एटलस इनर्जी लगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक छन् । असगर अलि प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ बैशाख ३१ गतेलाई तय गरिएको छ ।
गोसाईंकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने खतिवडाको भनाइ छ ।
यस आयोजनाका लागि २०७८ असार ३१ मा विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । २०७८ भदौ २७ मा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको थियो ।
वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गर्ने आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ । आयोजनाबाट सुक्खायाममा १५ दशमलव ९७ गिगावाट आवर र वर्षामा ३२ दशमलव ७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।