स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट,२ हजार ६६४ आवेदन रद्द
Last updated at 10:40 am
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ शुक्रबार विहान बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा भएको बाँडफाँटमा १९ हजार ५७७ आवदेकले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन्। सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीको शेयरमा कुल १७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको छ। जसमा बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।
कम्पनीको एफपीओमा मागभन्दा ११९ दशमलव ८५ गुणा बढी आवेदन परेको थियो ।कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको थियो।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको उक्त कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ छ । यसैगरी, कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ ५२ दशमलव ७२ प्रतिशत र सर्वसाधारणतर्फ ४७ दशमलव २८ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
हाल दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य प्रतिकित्ता ९८१ रुपैयाँ छ ।