सिचुवान एयरलाइन्सको पोखरा–छेन्दु चार्टर उडान, यस्तो छ भ्रमण प्याकेज
Last updated at 08:48 am
चीनको वायुसेवा प्रदायक सिचुवान एयरलाइन्सले पोखराबाट चीनको छेन्दु चार्टर उडान गर्ने भएको छ।उक्त एयरलाइन्सले आगामी चैत ५ गतेदेखि हप्तामा एउटा उडानका दरले १० वटा उडान गर्ने छ।
चीनको सरकारी ट्राभल एजेन्सीमार्फत सिचुवान एयरलाइन्सबाट पोखरा आउन १ हजार २५० जना आउने योजना छ। शुरुवाती दिनमा पोखराबाट छेन्दु जाउआउ र सात रात, आठ दिनको प्याकेज टुर बनाइएको छ। उक्त टुर प्याकेजको मूल्य अहिलेलाई १ लाख २३ हजार रूपैयाँ रहेको छ ।
उक्त प्याकेजमा सिचुवानका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्न पाइने छ। यस्तै चीनबाट नेपाल आउने चिनियाँ पर्यटकले पनि पोखरा आसपासका साथै चितवन र काठमाडौं पनि घुम्ने गरी प्याकेज बनाइएको छ।
चीनमा सबभन्दा धेरै पर्यटक जाने र चीनबाट बाहिर घुम्न जाने पर्यटक सिचुवान प्रान्तकै बढी हुन्छन् ।चीनको केन्द्र शासित प्रान्त सिचुवानमा ९ करोड जसंख्या छ।
पोखराबाट चीन जाँदा पहिलो उडानमा मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि र पर्यटन व्यवसायी हुनेछन्।पोखराबाट छेन्दु नियमित उडान गर्न पोखरा महानगरपालिकाका साथै पोखरा पर्यटन परिषद, नेपालमा रहेका चिनियाँ व्यवसायीका संस्था चाइनिज ओभरसिज एसोसिएसन लगायतले सहकार्य गरेका छन्।
यतिमात्र नभएर हिमालय एयरलाइन्सले पनि आगामी चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा नियमित उडान गर्ने तयारी गरिरहेको छ।