साताको शेयर समीक्षा : करेक्सन सकियो अब बजार बढ्छ !
Last updated at 07:44 am
यो साता धितोपत्र बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार गत साता ७२ अंकले बढेको धितोपत्र बजार यो साता मात्र तीन अंकले बढेको छ । गत साता २ हजार ८१५ विन्दुमा रहेको बजार यो साता २ हजार ८१८ विन्दुमा बन्द भएको छ ।
यो साता पाँचै दिन धितोपत्रको कारोबार भएको छ । जसमा एक दिन मात्र बजार बढ्यो भने बाँकी चार दिन लगातार बजार घटेको देखिन्छ ।अघिल्ला नौ कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक यो साताको चार कारोबार दिन नै निरन्तर घट्न पुग्यो ।अघिल्लो साता निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गरेका कारण यो साता एक दिन मात्र बजार बढेको हो । पहिलो कारोबार दिन आइतबार ७५ दशमलव २४ अंक बढेको बजार त्यसपछिका दिनमा भने लगातार घटेको छ ।
एक कारोबार दिन बजार बढ्दा पनि नेप्से परिसूचक गत साताभन्दा माथि नै छ।यो साता पहिलो कारोबार दिन ७५ दशमलव २४ अंक अर्थात् २ दशमलव ६७ प्रतिशत बढेकोमा दोस्रो दिन १३ दशमलव ६२ अंक, तेस्रो दिन ३० दशमलव ३६ अंक, चौथो दिन २५ दशमलव १६ अंक र पाँचौ दिन २ दशमलव ७० अंक बजार घटेको छ ।
गत साताको तुलनामा यो साता महत्त्वपूर्ण सबै परिसूचकहरू बढेको देखिन्छ । गत साताभन्दा यो साता कारोबार रकम ४२ दशमलव ३८ प्रतिशत र कारोबार कित्ता ४९ दशमलव ५५ प्रतिशत बढेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड तथा बिहीबार १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।यो साता सोमबार भएको कारोबार भदौ ९ गते यताकै उच्च हो । उक्त दिन १४ अर्ब २८ करोडको कारोबार भएको छ ।
समग्रमा गत साता ४३ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको थियो भने यो साता ६२ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको धितोपत्र खरिदबिक्री भएको छ ।
यो साता धितोपत्रको कुल बजार पूँजीकरण ५अर्ब ६३ करोड ६२ लाख रुपैयाँ बढेर ४६ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ बराबर पुगेको छ । गत साता भने कुल बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब २४करोड रुपैयाँ थियो । यो साता सामान्य अंकले बजार बढेता पनि कारोबार रकम र पूँजीकरणमा पनि वृद्धि भएको छ ।
यो साता विकास बैंक समूह सबैभन्दा धेरै अर्थात् ३ दशमलव १४ प्रतिशतले बढेको छ। यसैगरी,जीवन बीमा, उत्पादन र अन्य सेक्टर २–२ प्रतिशतले बढेको देखिन्छ । यो साता बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, होटल, र व्यापार समूह भने घटेका छन् ।
त्यसो त विगतका दुई साता अन्य समूहमा आकर्षण देखिएको थियो । अन्य समूह गत साता भने १० प्रतिशत बढेको थियो । यो साता लगानीकर्ताहरुको अकर्षण विकास बैंकमा गएको देखिन्छ । गत साता विकास बैंक समूह शून्य दशमलव ८२ प्रतिशत मात्र बढेको थियो ।
धेरै कारोबार भएका कम्पनी
यो साता पनि हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साताभरमा उक्त कम्पनीको मूल्य ४ दशमलव १८ प्रतिशतले बढेको छ यसपछि धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स लगायत छन् ।
कतिपय लगानीकर्ताले साताका अन्तिम चार दिन बजार घटेकाले यसलाई ‘करेक्सन’का रुपमा लिएका छन् । तर करेक्सन पनि सानो अंकको मात्रै देखिन्छ। उनीहरुले ‘करेक्सन’ सकिएकाले आगामी साता बजार बढ्ने बताएका छन् ।
लगानीकर्ता सन्तोष न्यौपाने यो साता बजारमा करेक्सन पुरा भएकाले आगामी साता बजारले २ हजार ९०० विन्दुको मनोबैज्ञानिक रेखा पार गर्ने बताउँछन् ।