एफवान सफ्ट २२ औं वर्षमा, अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त
Last updated at 07:33 am
फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१औं वार्षिक उत्सव मनाएको छ। सन् २००४ मा स्थापना भएको उक्त कम्पनीले दुई दशकदेखि नेपालको वित्तीय प्रणालीलाई डिजिटल प्रविधिबाट नयाँ दिशा दिएको छ।
एफवान सफ्टले भुक्तानीका लागि लाइनमा बस्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यले अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको थियो। कम्पनीको नवीनतम सेवाले डिजिटल वित्तीय पहुँचलाई सहज बनाउँदै नेपाली जनतालाई वित्तीय कारोबारमा सरलता ल्याएको छ। यसले नेपालमा डिजिटल वित्तीय संशाधनको विकास गर्दै वित्तीय समावेशीकरणलाई तीव्रता दिएको छ।
एफवान सफ्टको सहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा, रेमिटेन्स लगायतका सेवाहरू प्रदान गर्दै व्यवसाय र उपभोक्तालाई वित्तीय पहुँच उपलब्ध गराएका छन्। कम्पनीले १,५०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीका अध्यक्ष विश्वास ढकालले २१ वर्षको यात्रामा प्रमुख बैंक तथा वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताए। उनले आगामी दिनमा वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गर्दै नयाँ प्रविधिमा आधारित रणनीति अवलम्बन गर्ने योजना रहेको स्पष्ट पारे।
सो अवसरमा अध्यक्ष विश्वास ढकालले कम्पनीको नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ अध्यक्षका रूपमा सिद्धान्त ठकुरीलाई नियुक्त भएको बताएका छन्। यसअघि उनी कम्पनीका ग्रूप प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए। नवनियुक्त अध्यक्ष ठकुरीले एफवान सफ्टलाई डिजिटल फिनटेक क्षेत्रको नवप्रवर्तनमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै, ग्राहक, साझेदार, र सरोकारवालाहरूको विस्तारलाई प्राथमिकता दिने बताए।
२२औं वर्षमा प्रवेशसँगै कम्पनीले नेपालीको वित्तीय पहुँचलाई अझ सरल बनाउने, डिजिटल भुक्तानी प्रविधिमा नयाँ मानक स्थापित गर्ने र नेपाललाई डिजिटल फिनटेक हबका रूपमा अगाडि बढाउने लक्ष्य राखेको बताएको छ।