श्रम तथा रोजगार सम्मेलनको विषयमा मन्त्रालय र नाडा बीच छलफल
Last updated at 05:15 pm
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा छलफल गरेको छ ।
मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा आयोजना गर्न लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा छलफल भएको हो ।
उक्त छलफलमा अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोवाइल क्षेत्र बाहिरको सम्भावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयहरुबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरूमा छलफल केन्द्रित रहेको नाडाले बताएको छ । सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ ।
उक्त छलफलमा सो मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफ्नो धारणा राखेका थिए । त्यस्तै अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिलका कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफ्ना धारणाहरू राखेका थिए ।
उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्वय कपिल शिवाकोटी, दीपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदीपमान प्रधान, अभिक ज्योति, नीलमणि पाठक,नवीनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति थियो । त्यसैगरी,सोही छलफलमा वाडाका अध्यक्ष दीपेन्द्र कोइराला समेतको उपस्थिति थियो ।