धितोपत्र बजारमा पाँच महिनायताकै उच्च वृद्धि,लगानीकर्तामा बजारप्रति बढ्यो विश्वास !
Last updated at 08:47 am
धितोपत्र बजारमा पाँच महिनायताकै उच्च वृद्धि भएको छ । साप्ताहिक कारोबारको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७५ दशमलव २४ अंकले बढेको छ । गत बिहीबारको तुलनामा आइतबार २ दशमलव ६७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८९० दशमलव २८ बिन्दुमा उक्लेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आइतबारको वृद्धि पछिल्लो पाँच महिनायताकै उच्च हो ।गत सातादेखि बढेको बजारमा अहिले बुलिस ट्रेन्ड देखिएको छ । बजार बढ्न थालेसँगै लगानीकर्ता पनि उत्साहित देखिन्छन् । हुन त यस्तो बजारमा राम्रा–नराम्रा सबै खाले कम्पनीहरुको शेयरमूल्य बढ्ने गर्छ ।
आइतबार मात्रै करिब १४ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतबारको कारोबार रकम पनि पछिल्लो ६ महिनायताकै उच्च हो । यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर खरिबिक्री भएको थियो ।विगत नौ कारोबार दिनदेखि नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम पनि निरन्तर बृद्धि भइरहेको छ । उक्त दिनमा दैनिकजसो कारोबार रकम १० अर्बको हाराहारीमा हुँदै आएकोमा आइतबार भने बढेर १४ अर्ब रुपैयाँ बराबरको भएको थियो ।
त्यसैगरी,धितोपत्र बजारको आकार (कूल बजार पुँजीकरण) पनि बढेको छ। आइतबार कूल बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि करिब साढे ६ महिनायताकै उच्च हो । यसअघि गत साउन ३१ गते कूल बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल विशेष गरी धितोपत्र बजारका लागि अनुकुल हुन सकेन । उनको कार्यकाल अबको केहि दिनपछि सकिन लागेकाले पनि लगानीकर्तामा बजारप्रति विश्वास बढेको देखिन्छ। समग्रमा हेर्दा बजार बुल रनमा प्रवेश गरेको जस्तो देखिन्छ। बजारले लामो करेक्सन र साइडवेजलाई पार गर्दै ३ हजारको विन्दु चुम्ने प्रयास गरिरहेको छ ।
एक जना लगानीकर्ता सन्तोष न्यौपाने मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेका व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने भएकाले शेयरमा लगानीकर्ताको आकर्षण देखिनु स्वभाविक भएको बताउँछन् ।
केन्द्रीय बैंकले सहजीकरण गरेपछि बैंकको नाफा वृद्धिमा टेवा पुग्ने भएकाले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको केहि लगानीकर्ताको भनाइ छ।