जीवन विकास लघुवित्तको छैटौं वार्षिकोत्सवमा १६१ स्थानमा सामाजिक काम
Last updated at 07:47 pm
जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौं वार्षिकोत्सव १६१ वटा विभिन्न स्थानमा सामाजिक कार्यहरु गरी मनाएको छ ।
३१ वटा जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको उक्त कम्पनीका १६० वटा शाखा कार्यालय छन् । सबै शाखा कार्यालयले आ–आफ्ना कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)संजयकुमार मण्डलले जानकारी दिएका छन्।जीवन विकासको शुरुवात सामाजिक क्षेत्रबाट भएकाले संस्थाले वार्षिकोत्सव सामाजिक कार्य गरेको उनको भनाइ छ ।
उनका अनुसार २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण तथा मर्मत र ६० वटा शाखाले विभिन्न स्थानका बजार सरसफाइ गरेका छन् । ७२ वटा शाखाले वृक्षरोपण गरेका छन् । यसैगरी, एक स्थानमा रक्तदान, एक स्थानमा शौचालय निर्माण र दुई स्थानमा पार्क तथा मस्जिद सफाइ कार्यक्रम गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत मण्डल भने अमाही शाखाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागी भएका थिए । अमाहीबाटै जीवन विकास समाज शुरु भएको थियो ।जीवन विकास समाजबाट नै प्रवर्द्धन भई २०७५ साल फागुन १६ गते जीवन विकास लघुवित्त वित्तीय संस्था स्थापना भएको थियो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखामार्फत ३ लाख ५० हजार परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको उनले बताए । २७ अर्ब रुपैयाँभन्दा बढी ऋण कारोबार गरेको उक्त कम्पनीले हाल ११ अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन गरेको उनको भनाइ छ ।