सौर्य ऊर्जाका ६३ कम्पनीलाई पीपीएका लागि दुई महिना म्याद थप
Last updated at 07:54 am
नेपाल विद्युत् प्राधिकरणले सोलार ऊर्जा प्रवर्द्धकका लागि विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को प्रक्रिया अघि बढाउन दुई महिनाको म्याद थप गरेको छ ।
यसअघि प्राधिकरणले ऊर्जा सम्ब्द्ध ६३ वटा कम्पनी छनौट गरेको थियो ।ती कम्पनीको आशयपत्र जारी भएको ९० दिन अर्थात् फागुन १५ भित्र प्रतिमेगावाट ६ लाख रुपैयाँ धरौटी राखेर पीपीए को प्रक्रिया अघि बढाउनुपर्नेमा उक्त अवधिमा कुनै पनि प्रवर्द्धकले अनुमतिपत्र लिन नसकेकाले म्याद थप गरिएको प्राधिकरणले बताएको छ ।
विद्युत् विकास विभागले सर्वेक्षण लाइसेन्स जारी गर्न सिँचाइ विभाग र प्रदेशबाट प्रस्तावित सौर्य विद्युत् आयोजना सिंचाइयोग्य जमिनभित्र नपर्ने भनी सिफारिसपत्र ल्याउनुपर्ने अनिवार्य थियो । ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८ र सिंचाइ गुरुयोजना बीच द्विविधा हुँदा सिंचाइ विभागले सिफारिसपत्र दिएको थिएन ।
विद्युत् विकास विभागले माघ २८ गते ग्रिड कनेक्टेड कार्यविधि संशोधन गरी सर्वेक्षण लाइसेन्स लिन वडा वा पालिकाबाट मात्रै सिफारिस ल्याए पुग्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले गत चैतमा ८०० मेगावाट सौर्य ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको थियो ।प्रस्तावमा १३४ कम्पनीले ३ हजार ६०० मेगावाट बराबर प्रस्ताव पेस गरेका थिए । गत कात्तिकमा खोलेको वित्तीय प्रस्तावबाट ६३ कम्पनीको ९६० मेगावाट मात्रै छनोट गरिएको थियो । वित्तीय प्रस्तावमा सबैभन्दा कम मूल्य र सबस्टेसनको क्षमताअनुसार पीपीएका लागि छनोट गरिएको थियो ।