१२ मेवा क्षमताको सुपर कावेली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
Last updated at 02:29 pm
ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामा रहेको १२ मेगावाट (मेवा) क्षमताको सुपर काबेली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
कम्पनीले बाँध, सुरुङ, विद्युतगृह, प्रसारणलाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण दुई दिन भएपश्चात् विद्युत् उत्पादन शुरु गरिएको जानकारी दिएको छ ।
हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको उक्त आयोजनाबाट उत्पादित बिजुली पाँचथरको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । जुन १३२ केभी प्रसारण लाइनको अमरपुरबाट दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा समाहित गरिन्छ । सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युत् आयोजना निर्माण गरिएको हो ।
विसं २०७९ पुस २५ गते बाट निर्माण शुरु भएको यो आयोजनाको निर्माण अवधि २०८१ चैत १० गतेसम्म थियो । एक महिनाअगावै उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको उक्त आयोजनाले बताएको छ । आयोजनाको कुल लागत २ अर्ब १४ करोड ३८ लाख रुपैयाँ छ ।
आयोजनाको कुल लागतमध्ये ७५ प्रतिशत एनएमबी बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्यलगायत बैंकको लागत साझेदारी छ । आयोजनाको इन्टेक सिरिजंगा गाउँपालिका–८ याम्फुदिनमा र विद्युत गृह (पावर हाउस) सिरिजंगा–७ खेवाङको ओथाममा छ ।
हाल ताप्लेजुङ जिल्लामा २९ वटा विद्युत् आयोजनाहरू निर्माणाधीन छन् ।