विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर सञ्चालन
Last updated at 08:24 pm
विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ आयोजित तीन दिने स्वास्थ्य शिविरमामुलतः महिलाहरूको पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण गरिएको थियो । उक्त शिविरमा नाक, कान, घाटीसहित स्त्री रोग सम्बन्धी सेवा समेत उपलब्ध गराइने छ।
फागुन १७ गतेसम्म चल्ने स्वास्थ्य शिविरको पहिलो दिन बिहीबार करिब २०० स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविर उद्घाटन समारोहमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्त्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यवाद दिएका थिए ।
वित्तीय संस्थाहरूले यस्ता कार्यक्रम आयोजना गर्नु आफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीहरूले शिविरबाट लाभ लिनेमा आफू विश्वस्त रहेको बताए ।
यसैगरी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय समयमा सामाजिक कार्यहरू समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरूले यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने गरेको बताए ।
कार्यक्रममा विशेषज्ञ चिकित्सक डा विवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिका बीच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो ।