एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालको सहकार्यमा दुई विद्यालयमा बाबा परियोजना सम्पन्न
Last updated at 09:06 pm
काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका दुई वटा सामुदायिक विद्यालयहरूमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सम्पन्न भएको छ ।
यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
२०२४ को जुन महिनामा शुरु गरिएको उक्त परियोजनाको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयहरूमा शिक्षित गराउनु हो। यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासहरूलाई प्रवर्द्धन गरेको छ ।
साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधिहरू पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं २२ स्थित हिमालय माध्यमिक विद्यालय, न्यूरोड, र वडा नं १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।
समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थित महानुभावहरुलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए ।
विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् । बिक्रीबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यालय–आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका–कोला बेभरेज नेपाल र सीआईयूडीलाई धन्यवाद दिएकी थिइन् । साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताइन् ।
केएमसी सिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताए।
काठमाडौं महानगर, वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले कार्यक्रम निकै प्रभावशाली भएको बताए ।सीआईयूडीका कार्यकारी निर्देशक नवीन विकास महर्जनले विद्यालयमा सिकेका कुराहरू विद्यार्थीहरूले आफ्ना घर–परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्य बुझ्ने क्षमता उनीहरूमा विकास भएको बताए।
कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन तथा सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले बाबा परियोजनाले बालबालिकालाई वातावरणीय दिगोपनको ज्ञान प्रदान गर्दै उनीहरूमा दिगो वातावरणको सोच स्थापित गर्न मद्दत गर्ने बताइन् ।हिमालयन माध्यमिक विद्यालयका अध्यक्ष ई डिल्लीरत्न शाक्यले सीआईयूडी र कोका–कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिए ।