डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्न टेलिकमको अनुरोध
Last updated at 07:05 am
दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाइफाईको सट्टा मोबाइल डेटा प्रयोग गर्न अनुरोध गरेको छ ।
सुरक्षा जोखिमलाई औंल्याउँदै कम्पनीले सर्वसाधारणलाई मोबाइल डेटा प्रयोग गर्न भनेको हो । प्रयोगकर्ताले भने डेटा महँगो भएको प्रतिक्रिया दिएका छन् ।
मोबाइल एप वा वालेटमार्फत डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाइफाईको प्रयोग असुरक्षित हुन सक्ने टेलिकमले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । यसले साइबर सुरक्षासम्बन्धी विभिन्न जोखिम उत्पन्न गराउन सक्ने भएकाले टेलिकमको मोबाइल डेटा प्रयोग गर्न सुझाव दिएको हो ।
कम्पनीले यसबारे सामाजिक सञ्जालमा पोस्ट गरेको छ । उक्त पोस्टमा कतिपय प्रयोगकर्ताले डेटा सस्तो बनाउन आग्रह गरेका छन् ।
नेपाल टेलिकमका ग्राहकहरूले मोबाइलबाट आस्टरिस्क १४१५ ह्यास (*१४१५#) डायल गरी वा नेपाल टेलिकमको एप प्रयोग गरेर आवश्यक डेटा प्याक सजिलै खरिद गर्न सक्ने सूचनामा भनिएको छ ।
ग्राहकले सहुलियत दरका डेटा प्याकेज खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।