एडीबीका नयाँ अध्यक्षमा मासातो कान्दा, सम्हाले कार्यभार
Last updated at 07:13 am
बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंक (एडीबी) का ११ औं अध्यक्षको रुपमा मासातो कान्दाले सोमबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
उनले मासात्सुगु आसाकावापछि अध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । उनले अन्तरराष्ट्रिय वित्त र विकास नीतिमा झन्डै चार दशक लामो अनुभव बटुलेका छन् । यसअघि उनले जापानको अन्तरराष्ट्रिय मामिलासम्बन्धी वित्त उपमन्त्रीका रूपमा पनि काम गरिसकेका छन् ।
पदभार ग्रहणपछि कान्दाले एडीबी अध्यक्षको भूमिकामा आउन पाउँदा गर्व महसुस गरेको बताएका छन् ।उनले विकासका चुनौतीलाई आपसी सहयोगमार्फत सामना गर्दै एडीबीलाई उत्कृष्ट क्षेत्रीय साझेदारका रूपमा कायम राख्ने पनि बताएका छन् ।
उनले एडीबीको संस्थागत विशेषज्ञतालाई प्रयोग गरी साझेदारसँग मिलेर सबैभन्दा धेरै आवश्यकतामा रहेका समुदायका लागि रूपान्तरणकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।
एडीबी ४५ वटा सदस्य मुलुकहरूको स्वामित्व भएको एक बहुपक्षीय विकास वित्त संस्था हो । यसमा ६३ सदस्य मुलुकहरू एशिया तथा प्रशान्त क्षेत्रका छन् भने बाँकी १८ वटा मुलुक अन्य क्षेत्रमा पर्छन् ।एडीबी नेपालमा विकास सहायता रकम उपलब्ध गराउने प्रमुख दातृ निकायका रुपमा छ।एजेन्सी