समृद्ध अर्थतन्त्रका लागि सरकार, विकास साझेदार र निजी क्षेत्रको सहकार्य आवश्यक : अध्यक्ष ढकाल
Last updated at 07:32 am
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार, विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिए।
आइतबार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै उनले नेपालको कृषि तथा अन्य विकास परियोजनाहरुमा विकास साझेदारहरूको सहयोगको प्रशंसा गरे । साथै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकोले यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको भन्दै नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको धारणा राखे।
अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता कुराहरुले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको बताए।
अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानहरूलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायहरूको लागि पूँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता औंल्याए ।
ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनु पर्ने उनको भनाइ छ । उनले आफुले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको पनि बताए ।
उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीहरूमा लगानी गर्ने लक्ष्यका साथ महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि कामहरू अगाडि बढाइएको जानकारी दिए ।