एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ गतेदेखि
Last updated at 10:33 am
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यही फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको १२ औं संस्करणलाई आयोजक बुकवर्म फाउन्डेसनले थप विशेष र उत्साहजनक बनाउने लक्ष्य लिएको छ ।
अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ । जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्बर्द्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन् ।
यस पटक फेस्टिभलमा देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल शुरु हुने आयोजकले बताएको छ ।