सीएनआई र पीआरआई बीच समझदारी, उद्योग तथा सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने
Last updated at 09:10 am
नेपाल उद्योग परिसंघ(सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान(पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।
नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितीमा बिहीबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्राडा लेखनाथ शर्मा र परिसंघको तर्फबाट महानिर्देशक डा घनश्याम ओझाले हस्ताक्षर गरे ।
सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिदाँ अनुसन्धानमा आधारित रहेर दिदै आएको छ ।
यसैगरी, प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए ।सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा दिपक कुमार खड्कालगायत सहभागी थिए ।