क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २२ गतेदेखि निष्कासनमा
Last updated at 07:05 am
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।
सोमध्ये १० प्रतिशत बराबर २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट भइसकेको छ। यसका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट भइसकेको छ।
कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ।