मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार हुँदैछ : अर्थमन्त्री पौडेल
Last updated at 06:05 pm
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधारका संकेतहरु देखिदै गएको बताएका छन् ।
गण्डकी प्रादेशिक कार्यालय भवनको शनिवार पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।
साथै उनले देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको पनि बताए।
मुलुकको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सक्षम रहेको दाबी गरे ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए ।
सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।