सिटिजन्स बैंकले काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्यायो १९८औं शाखा
Last updated at 06:05 pm
सिटिजन्स बैंक इन्टरनेशनलले १९८औं शाखा काठमाडौंको पानीपोखरीमा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । यससँगै, काठमाडौं उपत्यका भित्र उक्त कम्पनीको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु पुगेका छन् ।
एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । उनले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुरयाउने दृढता व्यक्त गरे ।
सो अवसरमा सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । सो अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो।
नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निः शुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छूटको व्यवस्थाका साथै लकर सुविधा लिंदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छूट उपलब्ध छ ।
कम्पनीले १८ लाख ५० हजार ग्राहकका साथै ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु सञ्चालन गरिरहेको छ ।