बरुण बेभरेजको सोलार प्लान्टबाट २ मेवा सौर्य ऊर्जा उत्पादन शुरु
Last updated at 07:32 am
बरुण बेभरेजले पश्चिम नवलपरासी रामग्राममा सोलार प्लान्टबाट २ मेगावाट(मेवा) सौर्य ऊर्जा (विद्युत्) उत्पादन शुरु गरेको छ ।
रामग्राम नगरपालिका–१० परासीस्थित उद्योगमा सोलार प्लान्टबाट उत्पादन भएको सौर्य ऊर्जाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार उद्घाटन गरेका हुन् ।
उक्त सोलार प्लान्टको लागत ११ करोड रुपैयाँ रहेको पनि सो अवसरमा जानकारी दिइयो ।मन्त्री भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले ऐन कानून सुधार गर्दै आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि लगानीमैत्री वातावरण बनाउन काम गरिरहेको बताए ।
साथै उनले नवीकरणीय सौर्य ऊर्जाले वातावरण संरक्षण र आत्मनिर्भर औद्योगिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने बताए । बरुण बेभरेजले नेपालमा वाह्य लगानी प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको उनको भनाइ छ ।
बरुण बेभरेजका कन्ट्री हेड विशालसिंह ठाकुरले उद्योगलाई पूर्णरूपमा हरित ऊर्जामैत्री बनाउने उद्देश्य रहेको बताए । यसैगरी, बरुण बेभरेजका कमर्सियल जनरल म्यानेजर मुकेश कुमारले सोलार प्लान्टबाट उत्पादित सौर्य ऊर्जा उद्योगमा खपत हुने कुल विद्युतको ३० प्रतिशत हिस्सा रहेको र भविष्यमा थप सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
सौर्य ऊर्जा विद्युतबाट कार्बन उत्सर्जन शून्य हुने भएका कारण कम्पनीले यसलाई प्रवर्द्धन र विस्तार गर्ने बरुण बेभरेज केन्द्रीय कार्यालय भारतका प्रतिनिधि एसएन भट्टले बताए ।
१७ बिघामा फैलिएको उद्योगमा ३ अर्ब लगानी भएको कम्पनीका महाप्रबन्धक रविन्द्र पाण्डेले जानकारी दिए । चिसो पेय पदार्थ पेप्सी, माउन्टेन ड्यु र प्रशोधित पानी उत्पादन गर्दै आएको उद्योगमा ४०० जनाले रोजगारी पाएको उनले बताए ।