नबिल बैंकको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
Last updated at 06:41 pm
नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित कार्यक्रम ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’सम्पन्न गरेको छ ।
हालै त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौ कोहर्टका सहभागीहरुको स्वागत गरिएको छ ।
कम्पनीले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको छ । कार्यक्रममा सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरेका थिए।
सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने बताए ।
यसैगरी, प्रमुख अतिथि तथा त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे ।
नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरु क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।
त्रिविका रेक्टर प्रा डा खड्ग केसीले छिमेकी मुलुक चीनले सन् १९८० को दशकदेखि नै यसप्रकारका कार्यक्रम सञ्चालन गरिरहेको उदाहरण पेस गर्दै नेपालमा पनि शैक्षिक संस्था र उद्योगीबीच सहकार्यको आवश्यकता औँल्याए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म १ हजार २०० जनलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे । उनले भारतमा सफलतापूर्वक कार्यान्वयन गरिएको उक्त कार्यक्रमको अनुसरण गरी नेपालमा शुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरिरहेको बताए ।
त्यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।