बजेटको आकार संशोधन, कुल बजेट १६ खर्ब ९२ अर्ब ७३ करोड कायम
Last updated at 10:14 am
सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको ९० दशमलव ९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अनुमान सार्वजनिक गरेका हुन् ।संशोधनपछि यस वर्षको कुल बजेट १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यो शुरुको कुल विनियोजन बजेटको ९० दशमलव ९९ प्रतिशत हो । गत जेठ १५ मा तत्कालीन सरकारले कुल १८ खर्ब ६० खर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
साथै उनले लक्षित आर्थिक वृद्धि प्राप्ति चुनौतीपूर्ण देखिएको पनि बताए ।सरकारले चालू आवमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक वर्ष अन्त्यसम्ममा १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अर्थमन्त्री पौडेलको भनाइ छ ।
उनले चालू खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९० दशमलव २४ प्रतिशतमात्र हुने अनुमान गरिएको बताए ।
पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान गरेको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९ दशमलव ०९ प्रतिशत हो ।
त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान छ । सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।चालू आवमा वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । तर विश्व बैंकले गत वर्ष ३ दशमलव ९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।