खैरहनी माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
Last updated at 07:48 pm
ज्योति विकास बैंकले चितवन जिल्लाको खैरहनी ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ३० थान डेस्क तथा बेञ्चहरू प्रदान गरेको छ ।
कम्पनीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको बताएको छ । यस सहयोग पश्चात विद्यार्थीहरूले डेस्क तथा बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने कम्पनीले अपेक्षा गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीको पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टले विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई डेस्क तथा बेञ्चहरु हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
सो अवसरमा प्रधानाध्यापक शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिंदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको बताएको छ।