आइएमई ग्रूपको इला कम्फोर्ट सञ्चालनमा, अध्यादेश कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिन्छ: ढकाल
Last updated at 05:59 pm
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिने बताएका छन् ।
बाग्लुङमा शनिवार आइएमई ग्रूपको लगानीमा निर्माण भएको इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै अध्यक्ष ढकालले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सृजना गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले स्वदेशमै रोजगारी सृजना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए । अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरूको सही कार्यान्वयन जरुरी रहेको उनको भनाई थियो ।
साथै उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए ।
आइएमई ग्रूपका अनुसार इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीयस्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको सेवा सञ्चालनको उद्घाटन गरेका हुन्।सो अवसरमा उनले आइएमई ग्रूपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।
करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन्।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताए।
इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ। नवलपरासिको गैंडाकोटमामा इला होटल शुरु गर्ने तयारी भइरहेको बताएको छ ।