आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेश : प्रधानमन्त्री
Last updated at 07:27 am
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश ल्याउनु परेको बताएका छन् ।
शुक्रबार संसद्मा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको उनले बताए ।
साथै उनले अध्यादेश मार्फत एकै पटक २९ वटा कानून संशोधन गरिएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा देशले सुधारको थालनी गरेको पनि बताए ।
उनले आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि बताए।
‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ’, उनले भने ।