अब नेपाल पेबाट १० मुलुकका पर्यटकले भुक्तानी गर्न सक्ने
Last updated at 09:49 am
नेपाल पेको क्युआर मार्फत नेपाल भ्रमणमा आउने १० ओटा अलग- अलग मुलुकका पर्यटकले यहाँ भुक्तानी गर्न सक्ने भएका छन्।
चीन, दक्षिण पूर्वी एशिया र अफ्रिका लगायतका मुलुकहरूका १४ वटा ईवालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले बताएको छ ।
नेपाल पे र स्मार्ट पे इन्टरअपरेबल भएकोले पर्यटकहरूले समेत नेपालमा रहँदा दुवै प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले उल्लेख गरेको छ। नेपाल पे क्युआरको सञ्चालन एनसिएचएलले गर्दै आएको छ।
यहाँका बिक्रेता (मर्चेन्ट) हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क लाग्दैन। हाल नेपालमा ८ लाखले नेपाल पे प्रयोग गरिरहेका छन्। बैंकहरूको ७५३ वटा स्थानीय तहमा पहुँच विस्तार भएकोले नेपाल पेको प्रयोग यहाँ भ्रमणमा आउनेले जहाँबाट पनि गर्न सक्ने अवस्था छ।
मर्चेन्टहरूको लागि नेपाल पेले छुट्टै बिजनेस एप विकास गरेको छ। यसले गर्दा पर्यटकहरूबाट हुनसक्ने भुक्तानीको तत्काल जानकारी यही एपमार्फत् बिक्रेताले प्राप्त गर्न सक्छन्।
एनसिएचएलले भुक्तानीको एसएमएस मार्फत् जानकारी ढिलो आउँदा पर्यटकलाई पखाई रहन पर्ने अवस्था नआउने समेत दाबी गरेको छ।यो सेवाको सुरूवातसँगै अब पर्यटकलाई आफूसँग रहेको विदेशी मुद्रा साटिरहनु पर्ने वा नगदै रकम बोकेर यात्रामा निस्कनु पर्ने बाध्यता हटेको छ।
पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्ने भएकोले यसले स्थानीय व्यापारीको अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुनसक्ने सम्भावना समेत छ। पर्यटन नेपालको अर्थतन्त्रको एउटा मुख्य आधारमध्ये रहेकोले यो सेवाको शुरूवातसँगै यसले पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने सम्भावना एनसिएचएलले उल्लेख गरेको छ।
हाल नेपालमा वार्षिक ११ लाख ४७ हजार पर्यटक आउने गरेका छन् भने पर्यटन क्षेत्रबाट वार्षिक ८२ अर्ब रूपैयाँ भित्रिने गरेको छ।