अन्तरराष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न प्रधानमन्त्रीको आग्रह
Last updated at 07:48 am
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तरराष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौं अन्तरराष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई बिहीार सम्बोधन गर्दै उनले निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्ने बताए ।
उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने पनि बताए। प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको बताए।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा छन् । एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशाधन सामग्री प्रदर्शनीका लागि राखिएको छ ।
एक्स्पोमा नेपालबाहेक बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेशिया, पाकिस्तानलगायतका व्यवसायीको सहभागिता छ ।पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ ।