विभिन्न नेता मुछिएका अनियमितताको छानबिन गर्न संसदीय वा उच्चस्तरीय समिति गठन गरौं : पूर्वअर्थमन्त्री
Last updated at 07:27 am
पूर्वअर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले विभिन्न राजनीतिक दलका नेता मुछिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उद्घाटन गर्दै पुनले पछिल्लो समय सतहमा आएका प्रकरणहरुको छानबिनका लागि समिति गठन गर्न आवश्यक रहेको बताए । आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टाचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसंग चर्चामा ल्याएको उनको भनाइ थियो ।
उनले शुक्रबार सघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने योजना रहेको पनि बताए ।
‘माओवादी नेता पनि कतै जोडिएका छन् कि, तर्साउन पो सकिन्छ कि भनेर ओलीजीले शेरा दरबारको कुरा गरिरहनुभएको छ’, पुनले भने, ‘केपी ओलीजीलाई मेरो र हाम्रो पार्टीको प्रश्न चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ ? कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । के भन्न सक्नुहुन्छ मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ? हामी तयार छौं ।’
पुनले विगतमा पनि नेताहरुमाथि छानबिन गर्नुपर्दा उच्चस्तरीय न्यायिक आयोग र संसदीय छानबिन समिति बन्ने गरेको पनि बताए ।
राज्यका निकायको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोज्ने तथा न्यायिक र अभियोजनको प्रक्रिया हातमा लिने प्रयास लोकतन्त्र नभई स्वेच्छदारी र तानाशाही प्रवृत्ति भएको आरोप उनले लगाए ।
उनले वर्तमान ओली नेतृत्वको सरकारको आयु लामो नभएको र आफैं कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै सत्तापक्षकालाई बचाउने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम नगर्न प्रहरीसहित राज्यका निकायलाई आग्रह गरे ।
पुनले मुलुकमा बिचौलिया र स्वार्थ समूहले राज्य दोहनका ठूल्ठूला सेटिङ गरिरहेको पनि आरोप लगाए ।सरकार बनाएको स्वार्थ समूहलेले पछिल्लोपटक हदबन्दीभन्दा बढीको जमिन बेच्न पाउने र ठूला ठेक्कामा चलखेल गर्ने गरी कानूनमै फेरबदल गरेको उनले बताए ।