‘खल्ती’ नवौं वर्षमा प्रवेश, यस्ता छन् नयाँ अफरहरु
Last updated at 10:19 am
डिजिटल वालेट ‘खल्ती’ आइतबारबाट नवौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा ‘Celebrating Gr* Years’ थिम राखी खल्तीले आफ्नो वार्षिकोत्सव मनाइरहेको छ ।
२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप तथा बिल भुक्तानी जस्ता सुविधाबाट शुरुवात भएको खल्तीले सन् २०२५ सम्म आइपुग्दा डिजिटल रूपान्तरणमा उल्लेखनीय काम गरेको बताएको छ । साथै उसले ती वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँदेखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने ‘प्लेसेस बाई खल्ती’ सम्म डिजिटल सेवा विस्तार गरेको बताएको छ ।
पछिल्लो समय कम्पनीले विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तीय सेवाहरू पनि ल्याएको छ। यस्तै हालै खल्तीले गूगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ। नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको शुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँदेखि मनोरञ्जनको एक्सक्लुसिभ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना नै आठौं वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले बताएको छ ।
यसैबीच,वार्षिकोत्सवको अवसरमा खल्तीले ८ रुपैयाँको अफर ल्याएको छ । माघ ७ देखि १८ गतेसम्म लागू हुने उक्त अफरमा हरेक सुविधालाई निश्चित समय अवधि तोकेर ८रुपैयाँमा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको कम्पनीले बताएको छ ।
जसअनुसार पहिलो ८८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई ८ रुपैयाँमै कफी, पहिलो ८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई ८ रुपैयाँमै सुरक्षा मिनी नामक स्वास्थ्य बीमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ रुपैयाँमै ५०० रुपैयाँसम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ रुपैयामै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ रुपैयामै फ्लाइट टिकट उपलब्ध गराइने छ ।
८ रुपैयामै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘इन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा ८ रुपैयामै कफी अर्डर गर्न सक्नेछन् भने यो अफर माघ १३ देखि १५ सम्मका लागि मान्य रहने छ ।
खल्तीले अन्य अफरको लागि आ–आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । यसका साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि उपलब्ध गराएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले हरेक नेपाली घरमा खल्ती एक विश्वसनीय ब्रान्डको रूपमा उभिन सफल भएको भन्दै आगामी दिनमा पनि ग्राहको चाहनाअनुसार सेवा प्रदान गर्दै अघि बढिने प्रतितबद्धता जनाएका छन्।