घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोड लगानी जुट्यो
Last updated at 10:49 am
७७ दशमलव ५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी जुटेको छ । उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।
आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले बताएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ३ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, माछापुच्छ्रे बैंकले १ अर्ब ४५ करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड बराबर लगानी गर्ने गरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले बताएको छ ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याजसहित १८ अर्ब १३ करोड छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।
स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।
साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।
आयोजना निर्माण शुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।