निर्जीवन बीमा कम्पनीको व्यापार २० अर्ब ८८ करोड,बीमा शुल्क आर्जन गर्ने शिर्ष स्थानमा शिखर इन्स्योरेन्स
Last updated at 10:16 am
चालू आवको छ महिनामा निर्जीवन बीमक कम्पनीले २० अर्ब ८८ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलब ६७ प्रतिशतले बढी हो।
गत वर्षको पुस महिनासम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेका थिए ।नेपाल बीमा प्राधिकरणका अनुसार उक्त अवधिमा आक्रामक रुपमा नेपाल इन्स्योरेन्सले व्यापार वृद्धि गरेको देखिन्छ ।
उक्त कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा ७५ करोड २ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेकोमा चालु आवको पहिलो छ महिनामा १ अर्ब ९ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको छ । यसपछि एनएलजी, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरको बीमा शुल्क संकलन वृद्धि दर धेरै छ ।
समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै बीमालेख सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको छ । कम्पनीले १ लाख ५१ हजार ७५७ वटा बीमा लेख जारी गरेकोछ ।अघिल्लो वर्ष उक्त कम्पनीले १ लाख ५३ हजार ८४४ वटा बीमालेख जारी गरेको थियो । चालु आवमा सबैभन्दा कम बीमालेख जारी गर्नेमा दी ओरियन्टल इन्स्योरेन्स छ । उक्त कम्पनीले २२ हजार १ सय १८ वटा मात्रै बीमा लेख जारी गरेको छ ।
यसैगरी, सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । उक्त कम्पनीले२ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो । यसपछि सगरमाथा र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स छन् । सगरमाथाले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरको २ अर्ब १३ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।