राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न दिंदैनौं : गभर्नर
Last updated at 07:27 pm
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न नदिने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँंवार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक केन्द्रीय बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि केन्द्रीय बैंककै भएको बताए । ‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौं । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरु परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरिवेक्षण गर्छौं, नियमन गर्छौं’, उनले भने ।गभर्नर अधिकारीले बाहिरका हल्लाका पछाडि नलाग्न समेत आग्रह गरे ।
‘बैंक तथा वित्तीय संस्थाहरुमा उतारचढाव आउँछन् । नआउने हैन । त्यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । तर, अप्ठ्यारो परेको बेला कसरी म्यानेज गरिन्छ, त्यो कुरा महत्वपूर्ण हो । यो मामिलामा नेपाल राष्ट्र बैंक एकदमै सचेत छ । हामीले प्रत्येक वित्तीय संस्थाहरुलाई नजिकबाट हेरिरहेका छौं’, उनले भने ।
कुनै बैंकको स्टाटस अलिकति तलमाथि हुनु त्यो स्वभाविक रहेको उनको भनाइ छ । अहिले बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) अरू मुलुकहरुको तुलनामा त्यति धेरै नराम्रो नभएको समेत उनको भनाइ छ ।
उनले संस्थागत सुशासनको इस्यु भएका बैंकलाई कारबाही गर्ने र अन्य कारणले समस्यामा परेका कार्यलाई रिजोलुसनका उपाय गर्ने भन्दै समग्र निक्षेपकर्तालाई निश्चिन्त रहन आग्रह समेत गरे ।