जीवन बीमकको व्यापार ८० अर्ब ६६ करोड, धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ
Last updated at 07:13 pm
चालू आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा जीवन बीमकहरुले ८० अर्बभन्दा बढीको आर्जन छन् । साउनदेखि पुसमसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढी आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको सोही अवधिको तुलनामा जीवन बीमकको व्यापार ८.६८ प्रतिशतले वृद्धि भएको छ। गत आवको पुस मसान्तसम्म ती कम्पनीहरूले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ आर्जन गरेका थिए।
उक्त अवधिसम्ममा सबैभन्दा धेरै व्यापार वृद्धि गर्ने सूचीको अग्रस्थानमा सिटिजन लाइफ छ।उक्त कम्पनीले २३.६० प्रतिशतले व्यापार वृद्धि गरेको छ। गत आवको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै दोश्रोमा रिलायबल लाइफ छ। उक्त कम्पनीको कुल बीमा शुल्क भने २३.४१ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिसम्ममा उक्त कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २ अर्ब ४२ करोड, सूर्यज्योतिले २ अर्ब ४४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। प्रभु महालक्ष्मीले गत वर्षको सोही अवधिको तुलनामा १९.०९ प्रतिशत, सूर्यज्योतिले १८.२६ प्रतिशत, आइएमई लाइफले १५.७२ प्रतिशतले बीमा शुल्क वृद्धि गरेका छन्।
गत आवको पुस मसान्तसम्म रिलायबलले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो। चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। यसैगरी, १९।६७ प्रतिशतले व्यवसाय वृद्धि गरेको प्रभु महालक्ष्मी लाइफले पुस मसान्तसम्म २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा भने नेपाल लाइफ अगाडि छ। उक्त कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको व्यापार गरेको छ भने दोश्रो स्थानमा नेशनल लाइफ र तेश्रो स्थानमा एलआईसी नेपाल छन्। नेशनलले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।