आर्थिक सूचकहरू सबै सकारात्मक छन् : अर्थमन्त्री
Last updated at 09:27 am
अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष छ महिनाको तथ्यांकलाई हेर्दा आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको बताएका छन्।
आइतबार अर्थ मन्त्रालयले आयोजना पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व, निर्यात लगायतमा वृद्धि भएको बताए ।
उनले भने, ‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु ।’
साथै उनले अर्थतन्त्रमा कुनै समस्या नभएको दाबी गरे । उनले बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको मात्र बताए ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आव पहिलो छ महीना (साउनदेखि पुस) सम्ममा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा भने निर्यात ७.२ प्रतिशतले घटेको थियो ।
यसैगरी, चालू आव पहिलो छ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यस्तै चालू आवको पहिलो छ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले वृद्धि हो । गत आवको पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
चाल आवको पहिलो छ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ छ । गत आवको सोही अवधिमा १०.२ः१ थियो ।अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो छ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको सोही अवधिमा भने ८.२ प्रतिशत मात्र बढेको थियो ।त्यसैगरी उक्त अवधिमा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो खर्च १.७ प्रतिशतले घटेको थियो ।
वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ । मन्त्रालयका अनुसार चालू खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।
यसैगरी, कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महीनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो ।यसैगरी, वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको छ ।