हिमालयन लाइफको लाभांश घोषणा, बोनस कति ?
Last updated at 07:22 am
हिमालयन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।जसअनुसार कम्पनीले हाल कायम चुक्तापूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुले नै तिर्नुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ। प्रचलित कानूनी व्यवस्थाबमोजिम बोनस शेयरमा लाग्ने करबापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीको भनाइ छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधरणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ पुग्ने छ।