अपर तामाकोशीको उत्पादन दुई दिन बन्द, यस्तो छ कारण
Last updated at 06:20 pm
४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाबाट शनिबार र आइतबार उत्पादन बन्द गरिएको छ । कम्पनीले उत्पादन बन्द गरेर संरचनाको सफाइ गर्न लागेको बताएको छ ।
सोमबारदेखि भने विद्युत् उत्पादन सुचारु हुने कम्पनीको भनाइ छ ।केहि समय अघि आएको बाढीले क्षतिग्रस्त संरचनाको बालुवा थिग्राउने पोखरी र भूमिगत कल्भर्टको सरसफाइ र आंशिक मर्मत गरेर ८८ दिनपछि आयोजना सञ्चालनमा आएको थियो ।
अर्धजलाशययुक्त आयोजना भएकाले अब विद्युतको उच्च माग हुने बिहान र साँझमा मात्रै आयोजना सञ्चालन गर्ने तयारी छ । यो जलविद्युत केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ ।
कम्पनीका सूचना अधिकारी मित्रमणी पोखरेलले आयोजनामा स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्नका लागि दुई दिन लाग्ने भएकाले त्यो बीचमा उत्पादन बन्द गरिएको बताए ।
अब विद्युतगृहलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने पूर्व तयारी भइरहेको छ ।विद्युत उत्पादन सुचारु गर्दै गर्दा दुईवटा पोखरीको बीचको क्षतिग्रस्त कंक्रिट वालमा स्क्याफोल्डिङ गरिएको छ ।
सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउडिङ समेत गर्नुपर्छ । पोखरी सफाइका लागि नदी फर्काएर सफा गरिन्छ । सबै पूर्व तयारीको काम गर्नका लागि कम्तीमा दुई दिन लाग्ने सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
असोजमा आएको पहिरोले हेडवक्स क्षेत्रको सुरक्षा नियन्त्रण गृहसमेत पूर्ण रूपमा क्षति भएको थियो भने त्यहाँ खटिएका नेपाली सेनाका दुईजना र कम्पनीमा कार्यरत दुईजना कर्मचारीसहित चार जनाको मृत्यु भएको थियो ।