महाकुम्भ मेलामा ४० करोड तिर्थयात्री सहभागी हुँदै, २० देखि ४० खर्बको कारोबार हुने अनुमान
Last updated at 05:50 pm
विश्वको सबैभन्दा ठूलो धार्मिक मेलाको रुपमा परिचित महाकुम्भ मेला भर्न संसारभरबाट जम्मा हुने क्रम निरन्तर जारी छ । उक्त मेल जनवरि १३ बाट शुरु भइसकेको छ भने २६ फेब्रुअरि २६ सम्म सञ्चालन हुने छ ।
प्रत्येक १२ वर्षमा मनाइने, यो संसारको सबैभन्दा ठूलो धार्मिक मेला मध्ये एक हो। भारतको उत्तरप्रदेशमा आयोजना भइरहेको उक्त मेलामा यो वर्ष २० खर्ब भारतीय रुपया(भारु) बराबरको कारोबार हुने अनुमान रहेको भन्दै त्यहाँका सञ्चारमाध्यमहरुले समाचार छापेका छन्।
एक महिनाभन्दा बढी दिनसम्म लाग्ने मेलामा अहिले विश्वभरका तिर्थयात्रीहरु जम्मा भइरहेका छन्।
गंगा, यमुना र सरस्वती नदीको संगममा भइरहेको मेला हरेक तीन वर्षमा आयोजना हुन्छ । तर, १२ वर्षको अन्तरालमा हुने कुम्भ मेलालाई महाकुम्भ भनिन्छ । तीन वर्षको अन्तरालमा हुने मेलालाई कुम्भ मेला भनिन्छ । महाकुम्भ मेला प्रयागराज, नाशिक, हरिद्धार र उज्जैनमा पालैपालो आयोजना गरिन्छ ।
भारत सरकारले महाकुम्भ मेला आयोजनाका लागि ७ हजार करोड भारु खर्च गरेको बताएको छ । मेलामा आउने तीर्थालुका लागि भनेर १ लाख ६० हजार टेन्ट, १ लाख ५० हजार शौचालय, १ हजार २४९ किलोमिटर लामो खानेपानीको पाइपलाइन बिछ्याएको छ । महाकुम्भका लागि भनेर ४ हजार हेक्टर क्षेत्रफलको अस्थायी सहर बनाइएको छ ।
मेलाको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ। श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरु तयार गरिएको छ।
उक्त मेलामा करिब ४० करोड तिर्थयात्रीहरु सहभागी हुने अनुमान छ। मेलाले भारतको उत्तर प्रदेश सरकारलाई मात्र नभएर भारतको संघीय सरकारको कोषमा अर्बौं राजस्वको योगदान दिने निश्चित छ ।
दैनिक लाखौं तिर्थयात्रीहरु जम्मा भइरहेका कारण होटल र ट्राभल कम्पनीहरूको व्यापार अपेक्षा गरेभन्दा कयौं गुणा राम्रो छ । यतिमात्र नभएर होटल, रेष्टुरेण्ट र जहाजदेखि बस, रेल तथा सवारी साधनहरु बुक भइरहेको छ।
महिले यही मेलाका लागि भनेर भारत सरकारले विशेष रेल्वे र बस सेवासमेत शुरु गरेको छ ।यसका साथै त्यसक्षेत्र वरपर व्यापारसमेत बढेको छ ।
भारतीय सञ्चारमाध्यमले गरेको अनुमान अनुसार, यदि ४० करोड पर्यटकमध्ये प्रत्येकले औसत ५,००० रुपैयाँ खर्च गर्दा त्यति रकमको कारोबार हुने छ । महाकुम्भमा प्रति व्यक्ति औसत खर्च १० हजार रुपैयाँसम्म खर्च गर्दा त्यो रकम दोब्बर अर्थात् ४० खर्ब भारतीय रुपैंयासम्म पुग्नसक्छ । त्यसमाथि विभिन्न व्यवसायिक कम्पनीहरुले निकै ठूलो रकम खर्च गरेर विज्ञापनसहितका होर्डिङ बोर्डहरु राखेका छन् । त्यसबाट पनि उत्तरप्रदेश सरकारले करोडौं आम्दानी गर्दैछ ।
विश्लेषकहरुले महाकुम्भको कारण उत्तर प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) नै एक प्रतिशतभन्दा धेरैले बढ्न सक्ने अनुमान गरेका छन् । गत वर्ष सन् २०२३को तथ्याँकअनुसार उत्तर प्रदेशको जीडीपी २५.४८ लाख करोड भारु बराबर छ ।एजेन्सीहरु