ई-सेवा १६ औं वर्षमा प्रवेश, यस्ता छन् थपिएका सुविधा
Last updated at 07:55 am
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई- सेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरू थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ १६ औं वार्षिक उत्सव आयोजना गरेको छ ।
‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसहरूलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउदै आइरहेको ई – सेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको बताएको छ ।
मोबाइल टपअपबाट सेवा शुरु गरेको ई- सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्सोरेन्सलगायतका २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै ईजी लोन, इस्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरू दिंदै आइरहेको छ ।
लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको ई- सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन् । करिब १ करोड कुल प्रयोगकर्ता भएको ई- सेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसैगरी, ई- सेवाको २ लाख ६८ हजारभन्दा बढी एजेन्ट र ४ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु छन् ।
कम्पनीले आगामी दिनहरूमा आफ्नो सेवाहरू विस्तार गर्ने योजनाहरू बनाइ रहँदा आफ्नो प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ फिचरहरू ल्याउनुको साथै तिनको स्तरोन्नतीमा समेत कार्यरत रहने प्रतिवद्धता गरेको छ ।कम्पनीका कार्यकारी अधिकृत जगदीश खड्काले हालसालै ल्याएको नयाँ फिचर पनि ल्याएको बताएका छन् ।यसको साथ ग्राहकहरूले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरू हेर्न सकिने बताएका छन् ।
यो फिचरमा कुन कार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरू छन् । यस फिचरको साथ प्रोगकर्ताहरुलाई आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनिकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुख कार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।
त्यसैगरी, ई- सेवाले आफ्नो ग्राहकहरूको दैनिक वित्तीय व्यवस्थापन सहजताका लागि ई-सेवा क्यालेन्डर सुविधा पनि ल्याएको छ । यस सेवा अन्तर्गत ई सेवा क्यालेन्डरमा आफ्नो भुक्तानीहरू अग्रिम टिपोट गरी राख्न सकिन्छ र ई-सेवा क्यालेन्डरमा गई सजिलै आफ्ना आर्थिक कारोबारहरू जाँच तथा व्यवस्थापन गर्न सकिन्छ । पहिला शेड्यूल पेमेन्टमा गई सम्पूर्ण भुक्तानी खोज्नु पर्थ्यो भने ई- सेवा क्यालेन्डरको मद्दतले ग्राहकहरूले आफूले गरेको भुक्तानी तथा आर्थिक कारोबारहरू सजिलै क्यालेन्डरमा गई हेर्न मिल्नेछ ।
त्यसैगरी, यस क्यालेन्डरमा ई- सेवामार्फत आफूले गरेको टिकट, होटल, फ्लाइट बुकीङ जस्ता कारोबारहरू पनि देखिने छ । यो सँगै ग्राहकहरूले निश्चित समयमा नियमित गरी रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरू पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन । यति मात्र नभई ई-सेवा क्यालेन्डरमा ग्राहकहरूले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादि जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् ।
ई- सेवा क्यलेन्डर ई- सेवा एप भित्र रहने छ भने ग्राहकहरूको सहजताको लागि ग्राहकहरूले आफ्नो मोबाइलको विजिटमा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाहरूले ग्राहकहरूलाई थप सुविधाजनक वित्तीय सेवाहरू प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्याएर वित्तीय समावेशीकरणतर्फ सधैं सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।