वाणिज्य बैंकहरूको नाफा २७ अर्बभन्दा बढी, कुन बैंकले कमायो सर्वाधिक ?
Last updated at 08:37 am
वाणिज्य बैंकहरूले सोमबार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार २० वठा वाणिज्य बैंकहरूले उक्त अवधिसम्म्मा कुल २७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् ।
यस वर्ष गत वर्षको तुलनामा २० वाणिज्य बैंकहरूमध्ये नौ वटा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । त्यसैगरी, ११ वटा वाणिज्य बैंकहरूको नाफा वृद्धि भएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक प्रभु बैंक छ। उक्त कम्पनीले यस वर्ष गत वर्षभन्दा ८५ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको छ । गत वर्ष यस अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको पाइएको छ।
गत वर्षको तुलनामा यस वर्ष खुद नाफा बढाउनेमा प्रभु बैंकसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक छन् । ती कम्पनीहरूको इम्पेरिमेन्ट चार्ज बापतको रकम यस वर्ष घटेकाले खुद नाफा बढ्न पुगेको हो ।
यस वर्ष खुद नाफा घट्ने कम्पनीहरूमा एनआईसी एशिया बैंकसहित कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । ती कम्पनीहरूले इम्पेरिमेन्ट चार्ज बापतको रकम बढी छुट्याएका कारण खुद नाफा घटेको देखिएको छ।
नबिल बैंकको नाफा सबैभन्दा बढी
समीक्षा अवधिसम्ममा २० वटा बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। उक्त कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशत मात्र बढी हो। त्यस्तै, ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ।
सो अवधिसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंक भने एनआईसी एशिया बैंक छ। उक्त कम्पनीले यस अवधिमा १५ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।
त्यसैगरी, चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ११ वटा बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। जसमध्ये दुई बैंकहरुले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् भने तीन वटा बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन्। बाँकी छ वटा कम्पनीहरुको नाफा भने १ अर्बभन्दा बढी छ।