अब साना तथा मझौला कम्पनीले पनि आईपीओ निष्कासन गर्न पाउने
Last updated at 08:47 am
साना तथा मझौला कम्पनी (एसएमई) ले पनि अब प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिहीबार नियमावली जारी गर्दै एसएमईले आईपीओ निष्कासन गरेर पूँजी जुटाउन सक्ने बताएको हो । उक्त नियमावली गत पुस ९ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको सेबोनले बताएको छ ।
नियमावली कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार पनि गरेको सेबोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आईपीओ जारी गर्ने एसएमईका लागि चुक्तापूँजी २५ करोड रुपैयाँ तोकिएको छ । एसएमईजले प्रिमियम मूल्यमा पनि आईपीओ जारी गर्न सक्नेछन् ।
कुल पूँजीको बढीमा ४९ प्रतिशतसम्म आईपीओ निष्कासन गर्न पाउने व्यवस्था छ । यसैगरी आईपीओ जारी गर्नका लागि कम्पनी रेटिङ अनिवार्य गरिएको छैन । जसको लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीमा उल्लेख छ । आईपीओका लागि लगानीकर्ताले कम्तीमा ५०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।
अब एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्नेछन् ।
नियमावली अनुसार लगातार तीन वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।