द्वन्द्व र अस्थिरताले विश्वभर गरिबी झन् बढ्दै : विश्व बैंक
Last updated at 12:31 pm
बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरताका कारण गरिबीको समस्या भयावह बन्दै गएको बताएको छ ।
उसले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उसले सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको बताएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष मात्र ४२ करोडभन्दा बढी मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्, जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ । यस्तो दरले बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान छ ।
विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले भने, ‘युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि आजका आधा द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन् ।’सुडान, इजरायल र प्यालेस्टिन तथा युक्रेन र रसिया बीच जारी द्वन्द्वले हजारौं व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन् ।
हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा छन्, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा छन् । यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरान भने समावेश गरिएको छैन ।
विश्व बैंकले भनेको छ, ‘द्वन्द्वको शुरुआत हुनुअघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ ।’
विश्व बैंकका उपप्रमुख अर्थशास्त्री आयहान कोसे भने, ‘पछिल्लो डेढ दशकमा द्वन्द्वग्रस्त देशहरूमा विकास होइन, आर्थिक जडता नै सामान्य अवस्था बनेको छ । यस्तो परिस्थितिमा परिवर्तन ल्याउन अबको प्रयास निर्णायक हुन सक्छ ।’ एजेन्सीहरु