नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : नेप्से पुनर्संरचना गर्ने र कमोडिटी बजार चलाउने
Last updated at 08:01 pm
नेपाल धितोपत्र बोर्डले मंगलबार चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सार्वजनिक नीति तथा कार्यक्रममार्फत् बोर्डले विभिन्न नीतिगत सुधारका प्रतिबद्धता गरेको छ । जसमा बजार सुधारका लागि नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने, सीडीएस एण्ड क्लियरिङको पुनर्संरचना गर्ने प्रतिबद्धता छ ।
यसैगरी, बोर्डले साना तथा मझौला उद्योगको धितोपत्र निष्कासन, कारोबारका लागि छुट्टै एमएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएको छ । हाल एसएमई प्लाटफर्मको लागि नेप्सेले विनियमावली तयार गरेको छ, यद्यपि विनियमावली स्वीकृत भइसकेको छैन ।
त्यस्तै कमोडिटी बजार सञ्चालनमा ल्याई विश्वसनीय र पारदर्शी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । वित्तीय क्षेत्रका अन्य नियामक निकायबीच समन्वय कायम गर्दै बोर्डका कार्यलाई उच्च प्रविधिमैत्री बनाउने घोषणा गरिएको छ ।
बजारको सुपरीवेक्षण कार्यलाई प्रभावकारी बनाउन ‘अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टम’ (एएमएसएस) विकास तथा खरिद गर्ने प्रतिबद्धता जनाइएको छ ।
सफल तथा स्थापित भएका रियल सेक्टर कम्पनीलाई बजारमा भित्र्याउने, बुक बिल्डिङ प्रणालीलाई विश्वसनीय बनाउँदै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । अहिलेसम्म सर्वोत्तम सिमेन्टले मात्रै बुक बिल्डिङबाट आईपीओ निष्कासन गरेको छ ।
‘आईओएससीओ’को मापदण्ड अनुसार पूँजीबजार सम्बन्धी कानूनी संरचना सुधार तथा विकास गर्दै लैजाने प्रतिबद्धता बोर्डले जनाएको छ । त्यस्तै गैरआवासीय नेपालीलाई नागरिकताका आधारमा दोस्रो बजारमा लगानीको व्यवस्था मिलाउने प्रतिबद्धता नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्राइभेट इक्वीटी र भेन्चर्स क्यापिटलको स्वामित्वमा रहेका धितोपत्रको लकइन अवधि, विद्यमान कोष व्यवस्थापन शुल्क, दर्ता तथा निष्कासन शुल्कका सम्बन्धमा अध्ययन गरी आवश्यक पुनरावलोकन गरिने उल्लेख छ ।
‘धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलेन्स गर्ने, नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरीवेक्षण गरी सुपरीवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सोको जाँचबुझ गर्ने’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्ने, अक्सन मार्केटलाई व्यवस्थित गर्ने नीति कार्यक्रममा उल्लेख छ । दोस्रो बजारमा कारोबारयोग्य औजारहरुको विविधिकरणका लागि डेरिभेटिभ्स औजारको संचालन गर्न आवश्यक अध्ययन गर्ने, गराउने बोर्डको योजना छ ।
दोस्रो बजारबाट सेयर तथा अन्य धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्नेगरी कार्य अघि बढाइने बोर्डले जनाएको छ । ब्रोकर कम्पनीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ब्याकअपको प्रभावकारी व्यवस्था भए नभएको अनुगमन गर्ने बोर्डले प्रतिबद्धता जनाएको छ ।